प्रहार समाचार । तनहुँ, १५ कात्तिक २०८२ शनिवार । चार महिनापछि भगवान् विष्णु क्षीरसागरको योगनिद्राबाट जागा भएपछि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशीका अवसरमा तुलसी र दामोदर (विष्णु)को पवित्र विवाह गरी पर्वको उल्लासपूर्वक आराधना गर्दैछन्। यो दिनलाई हरिप्रबोधिनी वा तुलसी विवाहका रूपमा समेत मनाइन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि आजसम्म विष्णु योगनिद्रामा रहेकाले यस अवधिमा विवाह, ब्रतबन्ध लगायतका माङ्गलिक कार्य स्थगित राख्ने परम्परा छ। आजको हरिबोधिनी एकादशीसँगै ती कार्य पुनः आरम्भ गर्न सकिने विश्वास रहँदै आएको छ। घरघरमा तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ र विष्णुको प्रतीक निगालाको लिङ्ग गाडी तुलसीको विवाह विधिपूर्वक सम्पन्न गरिन्छ। तुलसीलाई विष्णुप्रिया मानिँदा यस दिनको विवाहलाई अत्यन्त शुभ र पुण्यदायी मानिन्छ ।
कात्तिक महिनाभर तुलसीमा सबै देवदेवीको निवास रहन्छ भन्ने धार्मिक विश्वास छ। तुलसीको पूजा र माला धारणले पाप नाश, रोग प्रतिरोधात्मक शक्ति वृद्धि र आध्यात्मिक शुद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। आज तनहुँको देवघाट, दमौली, धादिङको नीलकण्ठ, काठमाडौँका चार नारायण, बूढानीलकण्ठ र भक्तपुर–ललितपुरका नारायणस्थानहरूमा विशेष मेला र दर्शनार्थीको भीड लागेको छ। हरिबोधिनी एकादशीको व्रतले हजार अश्वमेध र राजसूय यज्ञको बराबर फल प्राप्त हुने शास्त्रीय उल्लेख रहेको छ।



























