हेडलाईनसमाचारगण्डकी

हिमपातमा फसेका विदेशी पर्यटकसहित १५ जनालाई सेनाद्वारा उद्धार

प्रहार समाचार । मुस्ताङ, १५ कात्तिक २०८२ शनिवार । मुस्ताङको दुर्गम हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाले तीन दिनको लगातार प्रयासपछि सफलतापूर्वक उद्धार गरेको छ। करिब ४ हजार ९ सय मिटर उचाइमा फसेका ती पर्यटकहरूलाई सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले हिंजो बतासेडाँडामा फेला पारेको हो। भीषण हिउँ र चिसो हावाबीच जोखिमपूर्ण अभियान सञ्चालन गर्दै टोलीले उनीहरूलाई ज्यानै जोखिममा पारेर उद्धार गरेको बताइएको छ।

सेनाले फेला परेका सबै पर्यटकहरूको तत्काल स्वास्थ्य परीक्षण गरेको र सबैको अवस्था सामान्य रहेको जनाएको छ। उद्धारमा सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शकहरूको संयुक्त टोली खटिएको थियो। लगातार तीन दिनदेखि चलिरहेको उद्धार अभियान कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको थियो।

उद्धारपछि सबै पर्यटकलाई जोमसोम ल्याउने कार्य भइरहेको सेनाले जनाएको छ। हिमपातका कारण मार्ग अवरुद्ध हुँदा पर्यटकहरू बीच बाटोमै अलपत्र परेका थिए। सेनाको समयमै गरिएको समन्वय र उद्धार अभियानका कारण ठूलो दुर्घटना टारिएको हो। स्थानीय प्रशासनले उद्धार टोलीको साहस र प्रयासको प्रशंसा गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button