प्रहार समाचार । काठमाडौँ, १३ कात्तिक २०८२ बिहीवार । भ्रामक र तथ्यहीन सामग्रीको बढ्दो प्रवृत्तिलाई नियन्त्रण गर्न प्रेस काउन्सिल नेपालले निगरानी र अनुगमन कार्यलाई तीव्र पारेको छ। सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रसारित समाचारहरूमा आएका उजुरीका आधारमा काउन्सिलले नियमित सुनुवाइ गर्दै अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन आफ्ना सदस्यलाई ‘फोकल पर्सन’ का रूपमा तोकेको जनाएको छ ।

काउन्सिलका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा हालसम्म १ सय १७ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ५५ वटामा जवाफ पठाइएको, १२ वटाले क्षमायाचना गर्दै भुलसुधार गरेका, ३ वटाले सामग्री स्थगन गरेका र १२ वटालाई सचेत गराइएको काउन्सिलले जनाएको छ। स्वअनुगमनका क्रममा पनि २० वटा सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको पाइएको छ ।
भदौ २३ र २४ गते भएको जेन. जी. आन्दोलनका क्रममा सञ्चार माध्यम र युट्युब च्यानलबाट तथ्यहीन र भ्रमपूर्ण सामग्री सम्प्रेषण भएकाले १४ वटा माध्यममाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। तीमध्ये सात वटाले क्षमायाचना गर्दै भुलसुधार गरेका छन् भने दर्ता नभएका तीन युट्युब च्यानलको ठेगाना नखुलेका कारण थप अनुसन्धान भइरहेको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार पत्रकारिताको मूल्य–मान्यताविपरीत गैरपेशागत आचरण गर्ने, तथ्य प्रमाणबिना सामग्री सम्प्रेषण गर्ने र सामाजिक सद्भाव बिगार्ने सूचना प्रकाशन गर्नु गैरकानुनी कार्य हो। उनले सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार पत्रकारिता र तथ्य आधारित सामग्री सम्प्रेषण गर्न आग्रह गरेका छन्।



























