प्रहार समाचार । काठमाडौँ, १४ कात्तिक २०८२ शुक्रवार । बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव कायमै रहेकाले देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझसम्म पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
महाशाखाले कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ।
पश्चिमी क्षेत्रमा वर्षा गराउने अरब सागरको प्रणाली कमजोर भए पनि बंगालको खाडीको ‘मोन्था’ चक्रवातको प्रभाव अझै कायम रहेको मौसमविद्हरूले बताएका छन्। लगातारको वर्षा र हिमपातका कारण पहिरो, सडक अवरुद्ध र जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।




























