प्रहार समाचार । तनहुँ, १३ कात्तिक २०८२ बिहीवार । धार्मिक आस्था र मन्दिर संरक्षण अभियान एकसाथ अघि बढिरहेको तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाईको विकासका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरूले उत्साहपूर्वक सहयोग गर्दै दान वर्षा गरेका छन्। पाँचौँ दिनसम्मै करिब एक करोड नजिक रकम संकलन भएको छ, जसले धार्मिक पर्यटन प्रवर्द्धनको लक्ष्यलाई थप बल प्रदान गरेको छ।

महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङका अनुसार हालसम्म करिब रु. ८० लाख दान संकलन भइसकेको छ। समितिले कुल रु. १० करोड संकलन गर्ने लक्ष्य राखेको छ। कात्तिक १५ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना निर्माण, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार, बाटो र पार्किङका लागि प्रयोग गरिने योजना छ। साथै फूल तालिम केन्द्र स्थापना, भक्तजनको आवागमन सहज बनाउने तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारिएको समितिले जनाएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, स्थानीय सरकारले छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना अघि बढाइरहेको छ। “मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि स्थायी पूर्वाधार र निरन्तर आर्थिक स्रोतको आवश्यकता छ,” उहाँले बताउनुभयो।
समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक विश्वासअनुसार गोरखाको मनकामनामाईकी दिदीका रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने मान्यता छ, जसले यस क्षेत्रलाई श्रद्धा र पर्यटन दुबै दृष्टिले आकर्षक बनाएको छ।




























