Uncategorized

देशभर भारी वर्षाको सम्भावना : बाढी र पहिरोको उच्च जोखिममा दर्जनौँ जिल्ला, कुन- कुन जिल्लामा पर्छ बढि पानी ?

प्रहार समाचार । काठमाडौँ, ११ कात्तिक २०८२ मङ्गलवार । केही दिन देशका विभिन्न भू–भागमा भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण विशेष गरी कोशी, गण्डकी र बागमती प्रदेशमा वर्षा तीव्र हुने र यसले नदी–खोलामा बाढी आउन सक्ने सम्भावना रहेको छ ।

विभागले कात्तिक १५ गतेसम्म ती प्रदेशका मुख्य नदी र तिनका सहायक खोलामा जलस्तर बढ्ने र केही स्थानमा सतर्कता तहसम्म पुग्ने चेतावनी दिएको छ। बाढीका साथै पहाडी भू–भागमा पहिरोको जोखिम पनि बढेको भन्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

भारी वर्षाले जनजीवन, यातायात, कृषि र पूर्वाधारमा प्रत्यक्ष असर पर्न सक्ने विभागको आकलन छ। त्यसैले स्थानीय प्रशासन, सुरक्षाकर्मी र सम्बन्धित निकायले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने विभागले जनाएको छ ।

जोखिमयुक्त जिल्लामा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, इलाम, मोरङ, सुनसरी, सिन्धुली, दोलखा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, म्याग्दी, बागलुङ, कास्की, तनहुँ, नुवाकोट र रसुवासहितका जिल्ला परेका छन्। यी क्षेत्रमा बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।

विभागले वर्षा बढ्ने संकेत देखिएकाले नजिकका नदी–खोलामा अनावश्यक आवतजावत नगर्न, असुरक्षित भू–भागमा बस्ती नबस्न र आपत्कालीन अवस्थामा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button