प्रहार समाचार । मुस्ताङ , ११ कात्तिक २०८१ मङ्गलवार । मनाङ र मुस्ताङ जिल्लामा आज बिहानदेखि निरन्तर भारी हिमपात भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित बनेको छ। जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, हुम्डे लगायतका उच्च हिमाली क्षेत्रहरूमा बाक्लो हिउँ जम्दा तापक्रम शून्यभन्दा तल झरेको छ। हिमपातका कारण विद्यालय र कार्यालयहरूमा उपस्थिति न्यून भएको र स्थानीय बासिन्दा घरभित्रै सीमित भएका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपातका कारण यातायात र सर्वसाधारणको जनजीवनमा कठिनाइ बढेको बताउँदै नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको ग छ।

हिमपातका कारण मुस्ताङ र मनाङतर्फका प्रमुख सडकहरू अवरुद्ध भएका छन्। बेनी–जोमसोम–मनाङ सडक खण्डका विभिन्न स्थानमा बाक्लो हिउँ जम्दा सवारीसाधन सञ्चालन ठप्प भएको छ। अत्यावश्यक सेवामा संलग्न एम्बुलेन्स र आपूर्तिकर्मीहरूलाई आवतजावतमा समस्या भइरहेको छ। पर्यटन व्यवसायमा समेत असर परे पनि स्थानीय होटल व्यवसायीहरूले हिमपातपछि क्षेत्रको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको भन्दै आगामी दिनमा पर्यटक आगमन बढ्ने आशा व्यक्त गरेका छन्।

यसैबीच, मनाङ ङिस्याङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हुम्डेले सार्वजनिक सूचना जारी गर्दै हाल गाउँपालिकाभित्र भारी हिमपात भइरहेकोले पदयात्रा नगर्नु/नगराउनुहुन र सुरक्षित रहन सबैमा अनुरोध गरेको छ। उक्त सूचना नविन क्षेत्री, नि. प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी गरिएको हो। स्थानीय प्रशासन र सुरक्षा निकायहरू संयुक्त रूपमा सतर्कता अपनाइरहेका छन् भने हिमपातबाट हुन सक्ने संभावित जोखिम कम गर्न आवश्यक तयारी अघि बढाइएको जनाइएको छ।




























