प्रहार समाचार । तनहुँ, १० कात्तिक २०८२ सोमवार । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको मुख्य दिनको पूजा विधिपूर्वक सम्पन्न हुँदैछ। कार्तिक शुक्ल षष्ठीको अवसरमा सूर्यदेवको पूजा, आराधना र उपासना गरिन्छ, जसमा व्रत बस्ने भक्तजनहरूले दिनभर निर्जल व्रत गर्दै, सूर्यास्तमा सूर्य देवतालाई अर्घ्य अर्पण गर्दछन्। यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ, जुन शनिबारदेखि सुरु भएको हो।

महाभारतमा उल्लेख गरिएको छ कि पाण्डवहरू अज्ञातवासमा रहँदा सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि छठ पर्वको परम्परा शुरु भएको मान्यता छ। सूर्य पुराणका अनुसार, अत्रिमुनिकी पत्नी अनुसूर्यले पहिलोपटक छठ व्रत गरेकी थिइन् र त्यसपछि उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। सूर्य देवता र उनका किरणहरूलाई संसारको भौतिक विकास र स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
छठ पर्वमा सूर्यको आराधनाले भक्तजनलाई कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने विश्वास राखिन्छ। व्रत बस्ने भक्तजनहरूले परिवारको सुख-शान्ति र समृद्धिका लागि सूर्य देवतालाई विभिन्न फल अर्पण गर्दछन्। यो पर्वको विशेषता भनेको यसको धार्मिक महत्व मात्र नभएर सामाजिक समरसताका दृष्टिले पनि यसको समावेशिता हो। आर्थिक र सामाजिक अवस्थाको भिन्नता भए पनि, यो पर्व मानिसहरूलाई आस्थामा एकजुट गर्दछ।



























