हेडलाईनसमाचारप्रदेश

रास्वपाको प्रधानमन्त्री सुशीला कार्कीलाई सन्देश : ‘वैधताको स्रोत जनतामाझै खोजिनुपर्छ, समर्थन सशर्त छ’

प्रहार समाचार । काठमाडौँ, ६ कात्तिक २०८२ बिहीवार । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सशर्त समर्थन प्रस्तुत गर्दै देशको राजनीतिक वैधता जनतामाझै पुनःस्थापित हुनुपर्नेमा जोड दिएको छ। हिजो साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा रास्वपाको तर्फबाट सांसद सोबिता गौतम र स्वर्णिम वाग्ले सहभागी थिए ।

रास्वपाले एमाले–कांग्रेस गठबन्धनको पूर्व सरकारलाई “चरम कुशासन र अहंकारको प्रतीक” ठहर गर्दै भाद्र २३ को शान्तिपूर्ण प्रदर्शनमा भएको नरसंहारपछि त्यस सरकारको नैतिक वैधता समाप्त भएको बतायो। पार्टीको धारणा अनुसार प्रतिनिधिसभाको औचित्य समेत सकिएकाले संविधानिक बाटोमै रहेर छ महिनाभित्र नयाँ निर्वाचन हुनुपर्ने हो।

रास्वपाले कार्की सरकारप्रति सद्भाव व्यक्त गर्दै समर्थन “अनन्तकालीन वा नि:शर्त हुन नसक्ने” स्पष्ट पार्‍यो। सुशासनका पाँच आयाम — इमानदार निर्वाचन तयारी, भ्रष्टाचारविरुद्ध कडा कदम, आर्थिक सुधार, गुणस्तरीय विकास र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध — लाई सरकारले आफ्नो वैधताको आधार बनाउनुपर्ने सुझाव पनि दियो।

रास्वपाले शान्ति–सुरक्षा, भ्रष्टाचार नियन्त्रण, संविधान संशोधनको उच्चायोग, सर्वदलीय संवादको संस्थागत रूप र निष्पक्ष निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षणजस्ता पाँच ठूला अपेक्षा अघि सारेको छ। विश्लेषकहरूका अनुसार रास्वपाको सन्देशले सरकारलाई जनउत्तरदायी नीति लिँदै नयाँ पुस्ताको म्यान्डेटलाई संस्थागत गर्न दबाब दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button