हेडलाईनव्याससमाचारगण्डकी

तिहारमा सृजनशीलता र संस्कृति: तनहुँको सतिस अङ्ग्रेजी स्कूलमा फुड फेस्टिभल र देउसी–भैलो सम्पन्न

प्रहार समाचार । तनहुँ, ५ कात्तिक २०८२ बुधवार । सृजनशीलता, संस्कृति र सीप शिक्षालाई जोड्ने उद्देश्यले सतिस अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, व्यास–१० शान्तिनगर तनहुँमा तिहारको अवसर पारेर भव्य फुड फेस्टिभल, देउसी–भैलो तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सह–शैक्षिक विभागद्वारा आयोजित सो कार्यक्रममा विद्यार्थीहरूले परम्परा, सिर्जनशीलता र वातावरणमैत्री सीपहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता सह–शैक्षिक विभाग प्रमुख बिनोद रखाली मगरले गरेका थिए भने विद्यालयका प्राचार्य दिर्घ बहादुर दरै प्रमुख अतिथि तथा शैक्षिक विभाग प्रमुख महेश थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। अतिथिहरूले विद्यार्थीहरूको आत्मविश्वास, सृजनशीलता र सांस्कृतिक प्रस्तुतिप्रति प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले नेतृत्व क्षमता र परम्पराप्रतिको सम्मान बढाउने बताएका थिए।

फुड फेस्टिभल अन्तर्गत विद्यार्थीहरूले सेलरोटी, आलु–तरकारी, च्याउको म :म जस्ता परम्परागत तिहार परिकारहरू आफ्नै पहलमा तयार गरी प्रदर्शन गरेका थिए। त्यस्तै, देउसी–भैलो, नृत्य, गीत तथा रंगोलीजस्ता कार्यक्रमहरूले विद्यालय परिसरलाई साँस्कृतिक उत्सवमय बनाएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सलको पात प्रयोग गरी दुना–टपरी बनाउने कार्यशाला आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूलाई वातावरणमैत्री अभ्यास र स्थानीय स्रोतहरूको सदुपयोगप्रति सचेत गराएको विद्यालय प्रशासनले जनाएको छ।

शिक्षक बिबेक कोइरालाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विद्यालयका प्राचार्य दरैले शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुनुपर्ने उल्लेख गर्दै यस्ता गतिविधिले व्यवहारिक सीप र मूल्यमा आधारित शिक्षा प्रदान गर्ने बताए। सह–शैक्षिक विभाग प्रमुख रखालीले समेत विद्यार्थीहरूको सक्रियता सराहनीय भएको बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सहभागी सबै विद्यार्थीप्रति धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना व्यक्त गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button