हेडलाईनविचारप्रदेश

मकवानपुर गढी : इतिहासको ढाल, देशभक्तिको प्रतीक

‘मकवानपुर गढीको दुई घण्टाको अवलोकनले इतिहास पुनः बोल्न थाल्छ। यो केवल इँटा-पर्खालको संरचना होइन, यो वीरता, बुद्धिमत्ता, र राष्ट्रप्रेमको अमिट दस्तावेज हो। राष्ट्रका प्रत्येक नागरिकले राष्ट्र कसरी जोगिदै आयो भन्ने स्मरण गर्ने र बुझ्ने प्रयास गर्नु पर्दछ। यही सन्देश यस गढीले दिएको छ।’ भन्दै रामचन्द्र पोखरेल लेख्छन् :

नेपालको स्वाधीनता र अस्तित्व बचाइराख्न इतिहासले साक्षी राखेको थलो हो — मकवानपुर गढी। विदेशी आक्रमणहरू विरुद्ध यसले बारम्बार बलियो ढालको भूमिका खेलेको छ। यो केवल एक किल्ला होइन, यो त देशभक्तिको संदेश बोकेको एउटा अमर प्रतीक हो । ।

(१) ब्रिटिस आक्रमण र सुगौली सन्धिको पीडा :

सन १८१६ फेब्रुअरी २७ का दिन ब्रिटिस फौज अक्टरलोनीको नेतृत्वमा मकवानपुर गढी नजिक आइपुग्यो। नेपाली पक्षबाट शंशेर राना नेतृत्वमा डटेर प्रतिकार गरियो। युद्ध बिहानैदेखि सुरू भई अपरान्हसम्म चल्यो, तर करिब ८०० सैनिक गुमाउनु परेपछि नेपाली फौज पछि हट्न बाध्य भयो।

ब्रिटिस सेनाले चार भागमा विभाजित हुँदै काठमाडौं तर्फ सरेपछि, हरिहरपुर गढीमा रणजोर सिंह थापा को नेतृत्वमा पुन: वीरता देखाइयो। तर जब अत्याधिक अंग्रेजी फौज तोपसहित आईपुगेको खबर काठमाडौं पुग्यो, तब नेपाल सरकारले अंग्रेजको प्रस्ताव स्वीकार्दै लालमोहरसहित दूत पठायो।

दूत चन्द्रशेखरको अपमान गरियो, अनि अन्ततः राष्ट्रको अस्मितामाथि ठेस पुर्‍याउने सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य बनाइयो।

तर, नेपालीहरूका लागि यो पराजय मात्र थिएन — यो सम्झना थियो, देश कसरी जोगाउन लड्न सकिन्छ भन्ने चेतनाको पुनर्जागरण थियो।

(२) चिनियाँ फौज र रातको रणकौशल :

सन १७९२ मा भोटसँग युद्ध हुँदा चिनियाँ फौज नेपालको भूभागमा पसेर त्रिशूली किनार हुँदै काठमाडौं नजिक आइपुग्यो। नेपाली फौजले रोकेको भए तापनि, संख्यात्मक दृष्टिले कमजोर भएकाले पछि हट्न बाध्य भयो।

काठमाडौं जोगाउन सारा सरकारी सम्पत्ति मकवानपुर गढीमा स्थानान्तरण गरियो। चिनियाँ फौज जब जितपुर फेदीमा आइपुग्यो, त्यस रात नेपाली फौजले तीनैतिर राँको बालेर जंगल, रुख, बुटाहरूमा आगोको झिलीमिली फैलायो।

चिनियाँहरूले चारैतिरबाट आफू घेरिएको भनी भ्रममा परेर भागाभाग गरे, र युद्धविरामको बाटो खुलेको इतिहासले देखाउँछ।

यस प्रसंगमा इतिहासकार बालचन्द्र शर्माले भनेका छन् – “युद्धबन्दी सम्भव भयो, किनभने नेपाली बुद्धिमत्ताले रातलाई आफ्नो हातहतियार बनायो।”

(३) मीर कासिम विरुद्ध विजय :

अझ अघिको समय, वि.सं. १८१९ माघ १० मा पनि मीर कासिमको फौज विरुद्ध मकवानपुर गढीमा नेपाली फौजले विजय प्राप्त गरेको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ। यो प्रसंगले गढीको सैनिक तथा रणनीतिक महत्व थप स्पष्ट पार्दछ।

गढीले दिएको राष्ट्रप्रेमको सन्देश :

मकवानपुर गढीको दुई घण्टाको अवलोकनले इतिहास पुनः बोल्न थाल्छ। यो केवल इँटा-पर्खालको संरचना होइन, यो वीरता, बुद्धिमत्ता, र राष्ट्रप्रेमको अमिट दस्तावेज हो।

“राष्ट्रका प्रत्येक नागरिकले राष्ट्र कसरी जोगिदै आयो भन्ने स्मरण गर्ने र बुझ्ने प्रयास गर्नु पर्दछ। यही सन्देश यस गढीले दिएको छ।” — रामचन्द्र पोखरेल

( – पोख्रेल नेपाली कांग्रेसतनहुँबाट संविधान सभा सदस्य एवम् तनहुँका नेता हुन्। – उनको यो बिचार हामीले फेसबुकबाट सम्पादन गरेर लिइएका हौँ – सम्पादक )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button