हेडलाईनसमाचारविजनेसप्रदेश

बक्यौता रकम नतिर्ने ठूला उद्योगहरूको लाइन काटियो : प्राधिकरणको साहसिक कदम

प्रहार समाचार । काठमाडौँ , ४ कात्तिक २०८२ मङ्गलवार । बक्यौता रकम तिर्न पटक पटक आग्रह गर्दा पनि अनेक बाहना बनाएर अटेरी गर्ने ७ ठूला उद्योगहरुको लाइन नेपाल विद्युत प्रधिकरणले आज काटिदिएको छ। विजुली प्रयोग गरे पनि महसुल नतिर्ने चलन अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमाथि यस्तो कडा प्रहार गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले आज बिहानैदेखि जगदम्बा स्टिल, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स को विद्युत् आपूर्ति बन्द गरिदिएको हो। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत तिर्नुपर्ने अतिरिक्त महसुल अहिलेसम्म नबुझाएको प्राधिकरणको दाबी छ ।

प्राधिकरणअनुसार जगदम्बाले १ अर्ब ६० करोड, शिवमले ७७ करोड ८८ लाख, रिलायन्सले ७५ करोड ३७ लाख, घोराहीले ५० करोड ८५ लाख, अर्घाखाँचीले ४४ करोड ८४ लाख, र त्रिवेणीले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी छ। कार्यकारी निर्देशक मनोज सिलवालले, पहिलो किस्ता बुझाएपछि मात्र लाइन पुनः जडान गरिने र तिहारको बिदामा पनि भुक्तानी खुला रहने जानकारी दिएका छन्।

ऊर्जामन्त्री बनेपछि कुलमान घिसिङले अघिल्लो कार्यकालमा थालिएको बक्यौता असुली अभियानलाई पुनः सक्रिय बनाएका हुन्। यसअघि यस्तो प्रयास गर्दा घिसिङलाई प्राधिकरणबाट हटाइएको थियो। तर यो पटक मन्त्रीकै रूपमा फर्किएका घिसिङले “ठूलो नाम होइन, ठोस भुक्तानी गर” भन्ने सन्देशसहित उद्योगीहरूलाई कडा चेतावनी दिएका छन्।

सरकारको यो कदमले प्रभावशाली भनिने उद्योगहरूलाई पनि कानुनी दायरामा ल्याउन थालिएको संकेत दिएको छ। अब बक्यौता तिर्न अटेर गर्नेहरूका लागि लाइन काट्नु मात्र चेतावनी हो — कारबाहीको अर्को चरण अझ कठोर हुन सक्ने देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button