हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा छुट्टाछुट्टै सवारी दुर्घटना : बालिका र महिला घाइते, तीनजनाको अवस्था मध्यम

प्रहार समाचार । तनहुँ, ४ कात्तिक २०८२ मङ्गलवार । तनहुँ जिल्लामा छुट्टाछुट्टै स्थानमा भएका तीनवटा सवारी दुर्घटनामा एक बालिका, एक महिला र दुई पुरुष घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारका लागि दमौली र पोखरास्थित अस्पतालहरूमा पठाइएको छ।

पहिलो दुर्घटना व्यास नगरपालिका–४ स्थित आदर्श बोर्डिङ स्कुल अगाडिको आन्तरिक सडकमा बिहान १०:५० बजे भएको हो। ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २ वर्षीया बालिका खेल्ने क्रममा ग १६ प ४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी हुन्। उनलाई तत्कालै प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरास्थित फिस्टेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। बालिकाको अवस्था मध्यम रहेको जनाइएको छ।

दोस्रो दुर्घटना व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराजमार्गमा बिहान १०:४५ बजे भएको हो। ग १५ प ९५५९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा चालक व्यास–१० निवासी २८ वर्षीय दिनेश राई घाइते भएका छन्। उनलाई पनि दमौलीस्थित प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ र अवस्था मध्यम रहेको बताइएको छ।

तेस्रो दुर्घटना बिहान ९ बजे शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको हो। ग १९ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा चालक र पछाडि सवार दुबै घाइते भएका हुन्। रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–५ फुल्पाका ३० वर्षीय निशान श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया रमा श्रेष्ठ घाइते भएका हुन्। श्रीमती श्रेष्ठको टाउको र अनुहारमा चोट लागेपछि उनलाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि ल्याइएको हो। निशान श्रेष्ठको छातीमा सामान्य चोट लागेको बताइएको छ।

तीनवटै दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button