हेडलाईनविचारप्रदेश

सम्पादकीय : उज्यालोको पर्व तिहार : प्रकृति, प्रेम र परम्पराको उत्सव

तिहार नेपालीहरूको एक मौलिक, सांस्कृतिक र धार्मिक पर्व हो, जुन कार्तिक महिनाको कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पौराणिक मान्यताअनुसार, तिहारलाई यमपञ्चक पनि भनिन्छ । मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निम्तोमा पाँच दिनसम्म बसेको प्रसंगसँग यो पर्व जोडिएको छ । काग तिहार, कुकुर तिहार, गाई पूजा, गोरु पूजा र भाइटीका गरी तिहारले दिनैपिच्छे फरक अर्थ र सन्देश बोकेको हुन्छ।

तिहार प्रकृति र परिवार दुवैसँग जोडिएको चाड हो । काग, कुकुर, गाई, गोरुजस्ता जनावरको पूजा गरी प्रकृतिप्रतिको सम्मान प्रकट गरिन्छ भने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाई दीर्घायु, सुख र समृद्धिको कामना गर्छन् । देउसी-भैलो, मिठाइ र उपहार आदान–प्रदानले सामाजिक समरसता र सांस्कृतिक एकता झल्काउँछ । तिहारको प्रत्येक दिनले मानव, जनावर र देवत्वबीचको सम्बन्धलाई उजागर गर्छ।

आजको बदलिँदो समाजमा तिहारले केवल परम्परा सम्झाउने मात्र होइन, सहकार्य, प्रेम, अहिंसा, राष्ट्रनिर्माण र सकारात्मक सोचको सन्देश पनि दिन्छ। उज्यालोको चाड तिहारले अन्धकार हटाउने, द्वेष मेट्ने र आत्मीयता फैलाउने प्रेरणा दिन सकोस् भन्ने शुभकामना। तिहारले हाम्रो संस्कृति, प्रकृति र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाओस्। ४ कात्तिक २०८१ मङ्गलवार ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button