हेडलाईनसमाचारप्रदेश

‘इतिहास रच्ने बेला आएको छ, देश बदल्न जेनजीहरू अग्रसर होऊन्’ – राष्ट्रपति पौडेल

प्रहार समाचार । काठमाडौँ, ३० असोज २०८१ बिहीवार । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेको निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’ भन्दै युवा पुस्ता, विशेषगरी जेनजीहरूलाई इतिहास रच्न आह्वान गरेका ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छलफलमा अन्तरिम सरकारका पदाधिकारीहरू र जेनजी अभियन्ताहरूको उपस्थितिमा राष्ट्रपति पौडेलले निर्वाचनलाई साधारण घटना नभई परिवर्तनको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले युवाहरूसँग आग्रह गर्दै भने ‘ युवाहरु अघि सर्दै भ्रष्ट र बदमासहरूलाई जित्न नदिउँ, असल र इमान्दारहरू निर्वाचित गरौं।”

राष्ट्रपतिले युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनले भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातबाट मुक्त देश चाहेको भन्दै सोही लक्ष्यलाई ध्यानमा राखेर नयाँ चुनाव घोषणा गरिएको उल्लेख गरे । यो निर्वाचनलाई सामान्य प्रक्रियाजस्तो नलिई राष्ट्र परिवर्तनको महाअवसरको रूपमा लिने समय आएको समेत राष्ट्रपतिले स्पष्ट गरे ।

राष्ट्रपतिले संविधान र संसदीय प्रणालीमा राष्ट्रपतिको कार्यकारी भूमिका नभए पनि, युवाहरूको आन्दोलनप्रति सम्मान प्रकट गर्दै आफ्नै उपस्थितिमा सरकार र आन्दोलनकारीबीच संवाद गराइएको बताए।

युवाहरूको जायज मागअनुसार अन्तरिक सरकार गठन भएको उल्लेख गर्दै राष्ट्रपतिले यसलाई आन्दोलनको उपलब्धिका रूपमा लिएर फागुन २१ को निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

राष्ट्रपतिले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि गरिएको आन्दोलनको भावनालाई लिएर आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नेहरूबाट सतर्क रहन पनि आग्रह गरे।

छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलले विषम राजनीतिक परिस्थितिमा देखाएको संकल्पको प्रशंसा गर्दै, युवाहरूप्रतिको सम्बोधन ‘भावुक र अन्तःकरणबाट निस्किएको’ बताइन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेल कलिलो उमेरदेखि नै देश र जनताको पक्षमा निरन्तर संघर्षमा रहेकाले उल्लेख गर्दै राष्ट्रपति पौडेलको भनाइलाई गम्भीर रूपमा लिन आग्रह गरिन्।

छलफलमा सहभागी जेनजी प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक–आर्थिक न्यायका लागि भएको उल्लेख गर्दै, आन्दोलन संविधान, लोकतन्त्र, संघीयता र समावेशीताविरुद्ध नभएको स्पष्ट गरे।

उनीहरूले आफूहरू निर्वाचन सम्पन्न हुनु आवश्यक ठान्नेमा दृढ रहेको जनाउँदै, आन्दोलनलाई मान्यता दिँदै त्यसका मागहरू पूरा गर्नुपर्ने धारणा राखे।

छलफलमा प्रधानमन्त्री कार्कीसहित सम्पूर्ण अन्तरिम मन्त्रिमण्डल र जेनजी प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीको उपस्थिति थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button