हेडलाईनव्याससमाचारगण्डकी

गाउँलेको श्रमदान : श्रीकलाको अगुवाइमा तनहुँको बेनिकोटमा गोरेटो बाटो निर्माण

• ईश्वर बास्तोला / प्रहार समाचार । तनहुँ, ३० असोज २०८२, बिहीबार। विदेशिएका युवाको सहयोग र गाउँलेको सामूहिक श्रमले तनहुँको व्यास नगरपालिका–१३, स्थित बेनिकोटमा गोरेटो बाटो निर्माणको सपना साकार बनाउँदैछ। सुन्तलाको पकेट क्षेत्रका रूपमा परिचित बेनिकोटमा श्रीकला थापाको नेतृत्वमा ग्रामीण स्तरमा पहिलो पटक बाटो सुधारको कार्य तीव्र रूपमा अघि बढेको छ।

दमौली बजारबाट करिब ८ किलोमिटर टाढा रहेको मगर समुदायको बाहुल्य रहेको बेनिकोट गाउँ वर्षौंदेखि पूर्वाधार सुविधाको अभावमा रहेको थियो। यहाँ उत्पादित लाखौं रुपैयाँ बराबरको सुन्तला बजारसम्म पुर्‍याउन बाटोको अभावले कठिनाइ हुने गरेको छ। तर, अहिले यही अभावलाई सम्बोधन गर्ने पहल गाउँले आफैंले सुरु गरेका छन्।

हाल पोर्चुगलमा कार्यरत कमल थापाले आर्थिक सहयोग उपलब्ध गराएपछि उनकी पत्नी श्रीकला थापाको संयोजनमा स्थानीयवासीले गोरेटो बाटोलाई स्तरउन्नति गर्ने कार्य सुरु गरेका हुन्। मित्रता टोल र सिखर्दी टोल जोड्ने यो बाटो निर्माणमा गाउँले उत्साहपूर्वक श्रमदान गरिरहेका छन्।

स्थानीय नन्दबहादुर थापा बाटो निर्माण स्थलमै भेटिए। उनी भन्छन्, “बाटो त बनेको राम्रो हो, तर आर्थिक सहयोग जुटाउन गाह्रो छ। तर पनि, हामी गाउँले आफै जुटेर बनाइरहेका छौँ।”

गाउँलेको सक्रियता देखेर प्रभावित बनेका श्रमजीवी शेरबहादुर थापा भन्छन्, “गाउँ आफै बनाउने सोचले सबै जुटेका छन्, म पनि रमाएर श्रमदान गरिरहेको छु।”

लिला माया थापाको भनाइमा पनि उत्साह झल्किएको छ। ‘यहाँ दमौली देखिन्छ तर बाटोको हालत खराब छ। अहिले गाउँले आँफै उठेका छन्, काम गरिरहेका छन्,” उनले भनिन्।

स्थानिय तहको यस्तो स्वस्फूर्त पहलले बेनिकोटको यातायात पूर्वाधारमा नयाँ ढोका खोल्ने संकेत देखिएको छ। ग्रामीण विकासमा नागरिकको सक्रिय सहभागिता कसरी परिवर्तनको संवाहक बन्न सक्छ भन्ने उदाहरण पनि बनेको छ यो अभियान।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button