हेडलाईनव्याससमाचारगण्डकी

व्यापारीकै इच्छा अनुसार जेब्राक्रसिङ ? : तनहुँको दमौलीमा डिभाइडर हटाएर इनामेलले बनाइयो मनपरी जेब्रा क्रसिङ

प्रहार समाचार । तनहुँ, ३० असोज २०८२ बिहीवार । सडक बन्यो, डिभाइडर पनि राखियो—तर व्यापारीलाई भने त्यो मन परेन। मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको दमौली बजार खण्डमा निर्माण कार्य अन्तिम चरणमा पुगेसङ्सगै सडक डिभाइडर र रंगरोगनको अन्तिम चरण चलिरहेको छ। तर, स्थानीय व्यापारीहरूले नियमको धज्जी उडाउँदै डिभाइडर हटाएर मनपरी जेब्रा क्रसिङ बनाउन थालेका छन्। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

सडक सुरक्षा मापदण्ड अनुसार दमौलीको मुख्य चोक ट्राफिक चोक र बागबजार टोलमा म जेब्रा क्रसिङ राखिएको छ। तर, गत असोज २४ गते भोर्लेटार चोकमा व्यापारीहरूले डोन श्री आन्दोलनको फाइदा उठाउँदै व्यापार नचलेको निउँमा ट्याक्टर लगाएर तीन वटा डिभाइडर आफैं हटाए। त्यसको सिको गर्दै कालिकामार्ग टोलका व्यापारीहरूले समेत जेसीभी प्रयोग गरेर दुई दिन अगाडी डिभाइडर हटाएका छन्।

नतिजा तत्काल देखिएको छ। डिभाइडर हटाइएको सोही दिन कालिकामार्ग चोकमा एक मोटरसाइकल दुर्घटना भयो। सडकपार गर्ने क्रममा अनियन्त्रित मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री घाइते भएको प्रहरीले जनाएको छ। यस्तै, जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो पार गर्न खोज्दा भोर्लेटार चोकमा तीन दिनअघि एक महिला मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन्।

हाँस्यास्पद कुरा त के रहेको छ भने आयोजनासँग अनुमति नलिई, रातारात सेतो इनामेल पोतेर मनपरी ‘जेब्रा क्रसिङ’ समेत बनाइएको छ। प्राविधिक निरीक्षण बिना अनुमति बिना नै बनाइएका यी क्रसिङले दुर्घटनाको जोखिम झनै बढाएको छ। जेसिभि लगाएर हटाइएको डिभाइडर जुन फुटेको पनि छ :

सडक निर्माणमा संलग्न ठेकेदार कम्पनीका अधिकारिअनुसार यो कार्य गैरकानुनी हो। आयोजनालाई पत्राचारमार्फत जानकारी दिइएको छ। आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर विष्णु पाण्डेले अनुमति विना यस्तो कार्य गर्नु नियम विपरीत रहेको जनाउँदै यस्ता गतिविधिले सडक सुरक्षामा गम्भीर असर पार्ने बताएका छन्।

उनले कानुन अनुसार मात्रै परियोजना अगाडि बढ्ने स्पष्ट पारे। पाण्डेका अनुसार उक्त स्थानमा जेब्रा क्रसिङ राख्न प्राविधिक हिसाबले नमिल्ने यस्ले दुर्घटना बढ्ने बताए ।

उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले समेत व्यापारीहरूले यस्तो कार्य गर्नु अनुचित भएको बताए। उनले भने- ‘सडक पार गर्ने आवश्यकता परे प्रविधिक अध्ययनपछि मात्रै समाधान खोजिनु पर्छ, आवश्यकता अनुसार आकाशे पुल बनाउनु उपयुक्त हुन्छ।’

यसरी, सार्वजनिक संरचना निर्माणमा सामूहिक उत्तरदायित्व लिने सट्टा व्यक्तिगत स्वार्थका लागि डिभाइडर हटाउने र नियमविपरीत कार्य गर्नुले सडक सुरक्षामै प्रश्न खडा गरिदिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button