प्रहार समाचार । तनहुँ, २९ असोज २०८२ बुधवार । तनहुँको नगरपालिका–५ चापाघाटस्थित पृथ्वी राजमार्गमा स्कारपियो र पावर टेलर एकापसमा ठोक्किँदा घाइते भएका टेलर चालकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, असोज २४ गते बिहान करिब १०:३० बजे दमौलीबाट थर्पुतर्फ जाँदै गरेको स्कारपियो (दर्ता नं. BAA ०५३३) ले सोही दिशातर्फ गइरहेको सानो चाइनिज पावर टेलर (ग १ त ५३४२) लाई ठक्कर दिएको थियो। दुर्घटनामा पावर टेलर चालक व्यास–५ निवासी ४१ वर्षीय तीर्थबहादुर नेपाली घाइते भएका थिए।
घाइते अवस्थामै उनलाई तत्कालै प्रदेश अस्पताल दमौलीमा उपचारका लागि लगिएको थियो। प्रारम्भिक रूपमा उनको दायाँ आँखाको वरिपरि चोट देखिएको र सामान्य उपचारपछि सोही दिन दिउँसो १२:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुबै पक्ष सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भई आपसी सहमतिमा कानुनी प्रक्रिया मिलाएका थिए। तर डिस्चार्जपछि स्वास्थ्यमा समस्या देखिएपछि नेपालीलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज (GMC) अस्पताल लगिएको थियो।
उपचारकै क्रममा असोज २८ गते राति ८:३० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।




















