प्रहार समाचार । काठमाडौँ, २९ असोज २०८२ बुधवार । नेपालले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ। ओमानमा जारी एसिया–प्रशान्त छनोटको ‘सुपर–६’ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने विश्वकप खेल्ने भएको हो।

बुधबार युएईले सामोआलाई ७७ रनले हराएसँगै नेपाल र आयोजक ओमान विश्वकपमा छनोट भए। दुबै टोली ६ अंकसहित तालिकाको शीर्ष दुई स्थानमा छन्। अब युएई, जापान र कतारबीच बाँकी एक स्थानको प्रतिस्पर्धा हुनेछ।
नेपालले यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो। यसपालिको छनोटमा दुई खेल अझै बाँकी रहँदै नेपालले स्थान पक्का गर्नु ऐतिहासिक उपलब्धि हो।
नेपाल र ओमानबीच आज राति ८:४५ बजे खेल हुँदैछ, जसले छनोटको उपाधि टुंगो लगाउने सम्भावना छ। नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।


























