
‘लोकतन्त्रको मर्म नेतृत्वको पुस्तान्तरणमा हुन्छ, क्षमता र विचारको आदानप्रदानमा हुन्छ। यो केवल सत्ताको निरन्तरतामा सीमित हुँदैन। जात, लिङ्ग, धर्म, भेग र गुटको लौरो बिना हिँड्न सक्ने, विचार र कार्यदक्षताका आधारमा नेतृत्व सम्हाल्न सक्ने कार्यकर्तालाई अघि ल्याउनु लोकतन्त्रको सच्चा अभ्यास हो।’ भन्दै प्राध्यापक महाप्रसाद हड्खले लेख्छन् :
नेपालको राजनीतिमा ‘विकल्प छैन’ भन्ने बहानाले सत्ताको साँचो बारम्बार तीन–चार नेताको हातमै सीमित राखिँदै आएको छ। दशौँ वर्षदेखि शासनको बागडोर समाउँदै र छोड्दै आइरहेका देउवा, ओली, र प्रचण्डजस्ता नेताहरूको विकल्प नदेख्ने प्रवृत्ति आज पनि समाजमा बलियो देखिन्छ। सामाजिक सञ्जालदेखि सडकसम्म आलोचना भइरहे पनि यी नेताहरूलाई दलभित्र प्रश्न गर्न हिम्मत राख्नेहरूलाई चुप लगाइँदै छ।
यस्ता पात्रहरूले आफूलाई अमर र अपराजेय ठान्न थालेका छन्। आलोचना गर्नेलाई दलको विरोधी भनेर हेप्ने, नयाँ सोच ल्याउनेलाई गुटको नाममा छेकिने र इमान्दार कार्यकर्तालाई अवसर नदिने प्रवृत्ति संस्थागत हुँदै गएको छ। यसरी दलहरू एकाधिकारवादी संरचनामा रूपान्तरित भइरहेका छन्, जहाँ ‘दल’ को नाममा केही गुट विशेषको मात्रै स्वार्थ साधिन्छ।
यी नेताहरू र तिनका आसेपासेहरूको नजरमा पार्टीभित्र लोकतन्त्र छैन, व्यक्तिपूजामा विश्वास छ। ‘दाइ’, ‘बा’, ‘सुप्रिमो’ जस्ता उपनामहरूमा अडिएको यो संरचना आलोचना होइन, चाकरी चाहन्छ। आलोचना सुन्ने धैर्य, सुझाव लिने विनम्रता, वा सहकार्य गर्ने मानसिकता उनीहरूमा छैन। बरु, सधैँ मञ्चको अगाडिको कुर्सी उनीहरूकै लागि सुरक्षित हुनुपर्छ भन्ने सोच कायम छ।
जनता र कार्यकर्ताको कर कराउँदा पनि दलभित्रको शक्ति संरचना टस न मस देखिँदैन। दलभित्रबाट नै परिवर्तनको माग गर्नेहरूलाई मौन बनाउने, आशावादी युवा कार्यकर्तालाई अवसरविहीन बनाउने, र नवप्रवेशी क्षमतावान अनुहारहरूलाई दबाउने काममा उनीहरू अझै व्यस्त छन्।
वास्तवमा, यी भ्रष्ट र स्खलित सोच बोकेका पात्रहरू लोकतन्त्रको ढोंग गर्दै गणतन्त्रका संरचनामाथि नै धावा बोलिरहेका छन्। दलहरूलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउने हो भने यस्ता प्रवृत्तिलाई पहिचान गरी दलभित्रैबाट प्रतिरोध गर्न जरुरी छ।
लोकतन्त्रको मर्म नेतृत्वको पुस्तान्तरणमा हुन्छ, क्षमता र विचारको आदानप्रदानमा हुन्छ। यो केवल सत्ताको निरन्तरतामा सीमित हुँदैन। जात, लिङ्ग, धर्म, भेग र गुटको लौरो बिना हिँड्न सक्ने, विचार र कार्यदक्षताका आधारमा नेतृत्व सम्हाल्न सक्ने कार्यकर्तालाई अघि ल्याउनु लोकतन्त्रको सच्चा अभ्यास हो।
अब समय आएको छ—जहाँ दलहरू केवल केही नेताको जागिर सुरक्षित गर्ने थलो नबसी, विचार र योगदानका आधारमा चल्ने संस्थाहरू बन्न सकून्। नयाँ सोच, नयाँ नेतृत्व र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको बीजारोपण आजको प्रमुख आवश्यकता हो ।
ल
























