प्रहार समाचार । तनहुँ, २५ असोज २०८२ शनिवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा गएराति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा राति ११:४५ बजे अनियन्त्रित भई सडकछेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा रुपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी–२ बसपार्कमा बस्दै आएका २८ वर्षीय विजय तामाङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति १२:४४ बजे आँबुखैरेनी अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति, गोरखा सहिदलखन–९ का २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन्।
गुरुङको बायाँ आँखामाथि र शरीरमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



























