प्रहार समाचार । काठमाडौँ, २५ असोज २०८२ शनिवार । यस वर्षको मनसुन नेपालबाट पूर्णतः बाहिरिएसँगै देशभरको मौसम उल्लेखनीय रूपमा स्थिर र सफा देखिएको छ। शुक्रबारदेखि मनसुन देशका सम्पूर्ण भू–भागबाट बिदा भएसँगै हाल कुनै ठूला मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिन सक्ने अनुमान गरिएको छ भने अन्य भू–भागहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको जानकारी छ।

रातिको समयमा पनि कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफै रहने महाशाखाले जनाएको छ। जलवायु स्थिर रहँदा देशभर हवाई सेवा, यातायात तथा जनजीवन सहज हुने अपेक्षा गरिएको छ।
मौसमविद्हरूका अनुसार मनसुनको बहिर्गमनसँगै अब देशमा खासगरि चिसोको प्रभाव विस्तारै बढ्दै जानेछ। तसर्थ, आगामी दिनहरूमा बिहान–बेलुका चिसो महसुस हुने क्रम तीव्र हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

























