राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दललाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आह्वान गरिएको सर्वदलीय बैठकमा उनले निर्वाचन नै एक मात्र वैधानिक विकल्प भएकोमा जोड दिँदै निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउनु सरकारको जिम्मेवारी भएको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षा निर्वाचनमार्फत मात्र सम्भव हुने बताए। उनले दलहरूमा कुनै द्धिविधा नरहोस् भन्दै स्पष्ट पारे, “निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने त्यसले देशलाई कहाँ पुर्याउँछ भन्ने सोच्न जरुरी छ।” उनले दलहरूलाई जनतामा भ्रम नछर्न, जेनजीहरूको असन्तुष्टि गम्भीरतापूर्वक लिन र लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन चुनावमा संलग्न हुन जोड दिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले सरकार दलहरूको सहमति विना चुनाव सम्भव नहुने कुरामा पूर्ण रूपमा जानकार रहेको स्पष्ट पारिन्। उनले भनिन्, “सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको प्रवन्ध गर्न प्रतिबद्ध छ।” जेनजीहरूको असन्तुष्टि बुझ्नुपर्नेमा जोड दिंदै उनले भनिन्, “उनीहरू हाम्रा छोरानाती हुन्, उनीहरूले किन असन्तुष्टि जनाए भन्ने बुझेर, परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।”
बैठकमा सहभागी प्रमुख दलका नेताहरूले लोकतान्त्रिक मूल्य र प्रक्रियामा विश्वास रहेको बताए। तर उनीहरूले वर्तमान सुरक्षा अवस्थाले निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न सक्नेमा शंका व्यक्त गरे। उनीहरूको भनाइ थियो, “चुनावी वातावरण अझै अनिश्चित छ, सरकारले स्पष्ट ग्यारेन्टी दिनुपर्छ।” साथै, जनतामा भरपर्दो सन्देश दिन दलहरू र सरकारले संयमित र जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।
बैठकमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, रास्वपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेकपा एस, राप्रपा, नेपाल मजदुर किसान पार्टीलगायत दलका शीर्ष नेताहरू सहभागी थिए।
सबै दलहरूले निष्पक्ष, स्वतन्त्र र सबैको सहभागितामा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे। उनीहरूले सुरक्षा प्रत्याभूत नगरी निर्वाचनमा जान कठिन हुने भन्दै सरकार र राष्ट्रपति दुवैको भूमिकालाई निर्णायक मान्दै चुनावी वातावरण तयार गर्न आग्रह गरे।


























