प्रहार समाचार । तनहुँ, १६ असोज २०८२ बिहीवार । आज बडादशैंको मुख्य दिन विजयादशमी, देशभर मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउँदै समृद्धिको कामना गरिँदैछ। नौ दिनसम्म पूजा गरिएको दशैं घरको प्रसाद आज ठूलाबडाबाट लगाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउन आज बिहान ११ बजेर ५३ मिनेट उत्तम साइत मानिएको छ। तर विजयादशमी आफैंमा शुभ भएकाले साधारणतः साइत खोज्न नपर्ने समितिको भनाइ छ। देवी विसर्जनको साइत भने बिहान ९ बजेर २३ मिनेटमा परेको छ।
समितिका अनुसार टीका थाप्ने व्यक्तिले पूर्वतर्फ फर्किनुपर्छ। आजको दिन मान्यजनको हातबाट टीका–प्रसाद थाप्दै नेपालीहरू आआफ्नो तरिकाले विजयादशमी पर्व श्रद्धा र हर्षका साथ मनाइरहेका छन्।
























