प्रहार समाचार । तनहुँ, १६ असोज २०८२ बिहीवार । आज हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैंको मुख्य दिन विजया दशमी। देशभरका घर–घरमा आस्थाको रंग, परम्पराको गहिराइ र परिवारको माया मिसिएको टीका–जमरा लगाउने धूमधाम छाएको छ। नवदुर्गाको प्रसादका रूपमा रातो टीका र हरियो जमरा मान्यजनको हातबाट ग्रहण गर्दै आशिष लिने क्रमले आजको दिनलाई विशेष बनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ११:५३ बजे उत्तम साइत मानिए पनि विजया दशमी आफैंमा शुभ भएकोले जुनसुकै समयमा पनि टीका थाप्न सकिने जनाइएको छ। नवमीसम्म पूजाआराधना गरेर संकलित प्रसाद आज गुरु पुरोहित, हजुरबा, बा–आमाजस्ता मान्यजनबाट टीका, जमरा र आशीर्वादसहित प्रदान गरिन्छ।
टीका लगाइँदा पुरुषलाई शास्त्रीय मन्त्र “आयुद्रोणसुते श्रियं दशरथे…” सुनाइन्छ, जसको अर्थ दीर्घायु, ऐश्वर्य, शौर्य, दानशीलता र कीर्ति प्राप्त होस् भन्ने कामना हो। महिलालाई भने दुर्गाको स्वरूप मानी “जयन्ती मङ्गला काली…” मन्त्रसहित शक्ति, समर्पण र संरक्षणको आशीर्वाद दिइन्छ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको घर–घरमा टीका थाप्न जानेहरूको चहलपहलले गाउँ, शहर र टोल रमाइलो र उल्लासमय बनेको छ। यो पर्व केवल पूजापाठको नभई, सम्बन्ध सुदृढ गर्ने, आशीर्वाद लिने र संस्कारको सम्प्रेषण गर्ने अद्वितीय अवसर पनि हो।
























