प्रहार समाचार । फिलिपिन्स , १५ असोज २०८२ बुधवार । फिलिपिन्सको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार, भूकम्पका कारण १४७ जना घाइते भएका छन् भने कैयौं घर तथा संरचनामा क्षति पुगेको छ।

सबैभन्दा ठूलो क्षति सेबु प्रान्तको बोगो शहरमा भएको छ, जहाँ मंगलबार राति मात्र १३ जनाले ज्यान गुमाएका छन्। बोगो शहर भूकम्पको केन्द्रविन्दु नजिकै, सेबु टापुको उत्तरी भागमा अवस्थित छ। लगातार परकम्प आइरहेकाले अस्पतालका बिरामीलाई भवनभित्र राख्न नसकी बाहिरै उपचार गरिएको छ।
अन्य प्रभावित क्षेत्रहरूमा पनि जनधनको क्षति भएको छ। टाबुलेन नगरपालिकामा १ जनाको मृत्यु भएको मेयरले जानकारी दिएका छन् भने सान रेमिजियो क्षेत्रमा ५ जनाको ज्यान गएको पुष्टि उद्धार टोलीले गरेको छ। उद्धार कार्य जारी रहेका छन् र स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन्।
























