प्रहार समाचार । काठमाडौं, १५ असोज २०८२ बुधवार । हाल देशभर मनसुनी र स्थानीय वायूको प्रभाव सक्रिय रहेकाले अधिकांश प्रदेशमा आज दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागसहित मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागसँगै मधेश प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी र संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न सुझाव दिइएको छ।
























