• बिजय अधिकारी ( संवाददाता ) लमजुङ, १४ असोज २०८२ मङ्गलवार । लमजुङको राईनास नगरपालिका–४ सातबिसेमा एक युवकको हत्या भएको छ। निर्माणाधीन नगर अस्पतालमा रेखदेखको काम गर्दै आएका सिन्धुली कमलामाई–१० का २२ वर्षीय विशाल दाहाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।

सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक राजाराम खतिवडाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा दाहालको टाउकोमा गहिरो चोट लागेको र शव घोप्टो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनास्थलको अवस्था शंकास्पद देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहित प्रहरी नायव उपरीक्षक रेशम बोहरा नेतृत्वको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा दाहालसँगै हिँडडुल गर्ने राईनास–३ का ३० वर्षीय सागर परियार प्रमुख शंका अभियुक्तका रूपमा पहिचान भएका थिए। खोजीका क्रममा परियारलाई सोमबार बिहान ४ बजे बेंसीसहरबाट पक्राउ गरिएको हो।

सोधपुछमा परियारले दाहालसँग मदिरा सेवनको क्रममा विवाद भएपछि ढुंगाले प्रहार गरी हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर साह तेलीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ भने परियारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
























