हेडलाईनसमाचारप्रदेश

काठमाडौंबाट नवकुमारी – आर्यतारा शाक्यले गरिन् देवीका रूपमा आसन ग्रहण

प्रहार समाचार । काठमाडौँ , १४ असोज २०८२ मङ्गलवार । काठमाडौंको ऐतिहासिक परम्पराअनुसार नयाँ कुमारी आर्यतारा शाक्यले आज कुमारी घरमा देवीको रूपमा आसन ग्रहण गरेकी छन्। करिब तीन वर्षीया आर्यतारालाई उनका बुबा अनन्त शाक्यले काँधमा बोकेर कुमारी घर पुर्‍याएका थिए।

शाक्य कूलकी आर्यतारा यसपालि अन्तिम चरणमा तीन जना उम्मेदवारमध्येबाट छनोट भएकी हुन्। कुमारीका रूपमा अब उनी वर्षभरिका प्रमुख नेवारी पर्व–जात्रामा सहभागी हुने र करिब आठ वर्षसम्म कुमारी घरमै वास गर्नेछिन्।

२०७९ पुस २६ गते जन्मिएकी आर्यताराको आमा प्रतिष्ठा शाक्य र १० महिनाकी बहिनी परमिता शाक्य छन्। सानैदेखि हँसिलो र रमाइलो स्वभाव भएकी आर्यतारालाई केही महिनाअघि मात्र प्लेग्रुपमा भर्ना गरिएको थियो। अब उनको औपचारिक शिक्षा कुमारी घरमै हुनेछ। कुमारी घरका संरक्षक (चिताइदार) हरूको साथमा उनलाई सबै सुविधा र मायापूर्वक हेरचाह गरिने बुबा अनन्तले बताएका छन्।

छोरी कुमारीमा चयन हुँदा एकैपटक गर्व र भावुकता अनुभूति भएको अनन्त शाक्यले बताए। ‘हामीले मात्र होइन, अब लाखौंले छोरीलाई श्रद्धा र माया गर्नेछन्,’ उनले भने। घर इतुम्बहालमै भएकाले जब चाह्यो तब छोरी भेट्न सकिने उनी बताउँछन्। ‘कुमारी भएपछि केही नियममा बस्नुपर्ने भएकाले स्वभावमा कस्तो परिवर्तन आउला भन्ने चिन्ता छ,’ उनले भने, ‘तर बिस्तारै सबैलाई बानी पर्नेछ भन्ने विश्वास छ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button