प्रहार समाचार । काठमाडौं , १४ असोज २००८२ मङ्गलवार । नेकपा (एमाले) भित्र पार्टी पुनर्गठनको माग बढेसँगै अध्यक्ष केपी शर्मा ओली महाधिवेशन गर्ने तयारीमा लागेका छन्। भदौ २३–२४ को जेन–जी विद्रोहपछि ओली पदच्युत भएपछि नै पार्टी पुनर्गठनको बहस सुरु भएको थियो। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, बिन्दा पाण्डे, उषाकिरण तिम्सेनादेखि उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेताहरूले निरन्तर सो विषय उठाउँदै आएका छन्। असोज १२ को सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष पाण्डे, ज्ञवालीसँगै रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलले समेत पुनर्गठनको समर्थन गरेपछि विषय झनै बलियो बनेको छ।

जेन–जी विद्रोहमा ७५ भन्दा बढीको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई छानबिनमा ल्याउने तयारी भइसकेको छ। आयोगले उनको पासपोर्ट रोक्का गर्दै उपत्यका बाहिर जानमा रोक लगाएको छ, जसले उनलाई थप दबाबमा पारेको एमाले नेताहरूको मूल्याङ्कन छ। l
यस्तो अवस्थामा ओलीले नेतृत्व अनुमोदनका लागि महाधिवेशनमा जाने मनस्थिति बनाएको बताइन्छ। असोज १९–२० मा पुनः सचिवालय बैठक र असोज २७–२९ मा केन्द्रीय कमिटी बैठक बस्नेछ, जसले महाधिवेशनको मिति तय गर्नेछ। सम्भवतः मंसिरमै महाधिवेशन सम्पन्न गरेर आफूलाई अध्यक्षका रूपमा पुनः स्थापित गर्ने योजना ओलीले बनाएको स्रोतले जानकारी दिएको छ ।
यद्यपि, एमालेभित्रैका नेताहरूले आउँदो ११औं महाधिवेशन ओलीका लागि सहज नहुने चेतावनी दिएका छन्।
























