प्रहार समाचार । काठमाडौं, १२ असोज २०८२ आइतवार । प्रेस काउन्सिल नेपालले ५६औं वार्षिकोत्सवको अवसरमा पत्रकार आचारसंहिता, पत्रकार सुरक्षासम्बन्धी विषय र पछिल्लो समय सञ्चारमाध्यममाथि भइरहेका आक्रमणबारे समीक्षा गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले जोखिमपूर्ण क्षेत्रबाट समाचार संकलन गर्ने पत्रकारको सुरक्षामा गम्भीर ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गर्दै दुर्घटना भएमा तत्काल उपचारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
बैठकमा पछिल्लो समय आचारसंहिता विपरीत सामग्री सम्प्रेषण भइरहेको भन्दै यस्तो प्रवृत्तिमा वृद्धि हुन सक्ने चेतावनी दिइएको छ। काउन्सिलले यस्ता सामग्रीको सूक्ष्म अनुगमन गर्ने र यही महिनाभित्र विज्ञहरूसहित विस्तृत छलफल गर्ने निर्णय पनि गरेको छ। आचारसंहिता पालना पत्रकारिता जगतको नैतिक दायित्व भएकोले यसको कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा काउन्सिलको जोड छ।
यसैबीच, मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरोको समाचार संकलनका क्रममा गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुजन पौडेल तथा जेन्जी आन्दोलनको रिपोर्टिङका क्रममा गोली लागेका पत्रकारप्रति काउन्सिलले समवेदना प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। पत्रकार कल्याण कोषमार्फत घाइते पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। साथै, यसअघि भएका विभिन्न प्रदर्शनहरूमा सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ।
बैठकमार्फत प्रेस काउन्सिलले विजयादशमी, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वको अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा आम नागरिकलाई शुभकामना व्यक्त गर्दै सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ। हेरौं प्रेस विज्ञप्ति :

























