हेडलाईनसमाचारप्रदेश

काठमाडौँमा महिला फुटबलका लागि विशेष रंगशाला : सानो गौचरणमा निर्माण तीव्र

प्रहार समाचार । काठमाडौँ, ११ असोज २०८२ शनिवार । काठमाडौँ महानगरपालिकाले महिला फुटबललाई विशेष प्राथमिकता दिँदै सानो गौचरणमा अत्याधुनिक रंगशाला निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएको छ। काठमाडौँ–५ मा अवस्थित सानो गौचरणको जग्गामा बन्न लागेको यो स्टेडियम १२ महिना खेल्न मिल्ने सुविधा सम्पन्न प्रशिक्षण केन्द्रका रूपमा निर्माण हुँदैछ। २०८१ मंसिरदेखि सुरु भएको पुनर्निर्माण कार्य २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल लागत १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ रहेको रंगशालाको निर्माण जिम्मा शुभ कन्स्ट्रक्सनले लिएको छ।

रंगशालामा ९६×६२ मिटरको मापदण्डअनुसारको फुटबल मैदान निर्माण गरिनेछ, जहाँ आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस बिछ्याइनेछ। मैदान चारैतिर सीमापर्खालले सुरक्षित गरिनेछ। काठमाडौँका मेयर बालेन शाहका अनुसार, महानगरमा आएसँगै विद्यालयदेखि सार्वजनिक खेलमैदानसम्मको स्तरवृद्धिमा विशेष ध्यान दिइएको छ। महिला फुटबलको निरन्तर सफलता र सम्भावनालाई मध्यनजर गर्दै यो रंगशाला महिला खेलाडीहरूको दीर्घकालीन प्रशिक्षणका लागि समर्पित गरिएको हो।

खेलाडी र दर्शकहरूको सुविधाका लागि रंगशालामा पर्याप्त पार्किङसहित आधुनिक पूर्वाधार समावेश गरिएका छन्। परिसरमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने पार्किङ बनाइँदैछ। साथै, भुइँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा तथा पहिलो तलामा महिलाका लागि ७ र पुरुषका लागि ५ वटा शौचालयको व्यवस्था गरिएको छ। यो परियोजनाले राजधानीमा महिला खेलकुदको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button