प्रहार समाचार । भक्तपुर, ११ असोज २०८२ शनिवार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ५९ हजार ६९३ जना अवर्गीकृत (अनुत्तीर्ण) भएका छन्। पूरक परीक्षामा ती विद्यार्थी सहभागी थिए, जो गत वैशाखमा सम्पन्न मुख्य परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका वा परीक्षामा अनुपस्थित भएका थिए।

बोर्डले साउन २९ देखि भदौ ६ गतेसम्म देशभर पूरक परीक्षा सञ्चालन गरेको थियो। प्रकाशित नतिजा बोर्डको www.neb.gov.np, कक्षा १० को www.see.gov.np तथा SMS, IVR र USSD सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी ग्रेडसिट अनलाइनमार्फत हेर्न र डाउनलोड गर्न सक्नेछन्।
परीक्षाफलप्रति चित्त नबुझेका विद्यार्थीका लागि बोर्डले पुनर्योग (रिचेक) तथा उत्तरपुस्तिका पुनः परीक्षणको सुविधा उपलब्ध गराएको छ। इच्छुक परीक्षार्थीले आगामी असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेसम्म बोर्डको वेबसाइटमा गई आफूले पुनर्योग गर्न चाहेका विषयहरू छनोट गरी अनलाइन फाराम भरि आवेदन दिन सक्नेछन्।

























