प्रहार समाचार । काठमाडौँ, ११ असोज २०८२ शनिवार । गृह मन्त्रालयले राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै भदौ २३ र २४ गते जेनजी (Gen-Z) युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि देशमा नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक प्रक्रिया अघि बढिसकेको जनाएको छ। पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक तथा विरोध कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक रूपमा सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ।

गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा अन्य पक्षलाई असर नपर्ने गरी संयमता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कुनै पनि गतिविधिमा उक्साहट नहुने सुनिश्चित गर्नुपर्ने र समाजमा शान्ति, सुव्यवस्था तथा सुरक्षा कायम गर्न सबैले सहयोग गर्नुपर्ने स्पष्ट पारेको छ।
.
सिंहदरबारस्थित मन्त्रालयबाट जारी विज्ञप्तिमा सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गरेका छन्। सरकारले आम निर्वाचनको तयारी अघि बढाएको सन्दर्भमा देशव्यापी स्थायित्व र समृद्धिका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको मन्त्रालयको धारणा छ।


























