प्रहार समाचार । काठमाडौँ, १० असोज २०८२ शुक्रवार । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले पद्मोदय माविमा दशकौंदेखि सञ्चालित सटरहरू हटाएर त्यहाँ खेलमैदान निर्माणको प्रक्रिया सुरु गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विद्यालयको सम्पत्ति निजी व्यापारिक प्रयोजनमा प्रयोग हुनु अनुचित रहेको बताउँदै, “स्कुल शिक्षा केवल विद्यार्थीका लागि होइन, मुलुक र सभ्यताको भविष्यका लागि पनि प्रमुख विषय हो,” भनेका छन्।

करिब ८० वर्ष पुरानो इतिहास बोकेको पद्मोदय स्कुलको जग्गामा वर्षौंदेखि सटरहरू सञ्चालनमा थिए। त्यस्ता सटरहरूमा पसल, पार्टी प्यालेसजस्ता व्यापारिक गतिविधि हुँदै आएका थिए, जसले विद्यार्थीको पढाइमा असर पार्नुका साथै विद्यालयलाई आवश्यक सभा वा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न अप्ठ्यारो पर्ने गरेको शाहको भनाइ छ। धेरैजसो स्कुलहरूले भाडा नपाएको वा बजार मूल्यभन्दा निकै कम दरमा भाडा पाएको अवस्थामा समेत विवाद उत्पन्न हुने गरेको उनले उल्लेख गरेका छन्।

शिक्षालाई प्राथमिकता दिने नीति अनुरूप महानगरले अब विद्यालयहरूमा व्यापारिक प्रयोजन बन्द गर्दै अध्ययन, खेलकुद र सिर्जनात्मक क्रियाकलापलाई प्राथमिकता दिने जनाएको छ। पद्मोदय स्कुलमा खेलमैदान निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको र विद्यालयलाई महानगरबाट थप अनुदान उपलब्ध गराइने शाहले स्पष्ट पारेका छन्। यो उदाहरण अन्य सामुदायिक विद्यालयहरूमा पनि कार्यान्वयन गरिने उनको भनाइ छ।


























