प्रहार समाचार । काठमाडौं, १ असोज २०८२ बुधवार । संसद् भवनअगाडि भदौ २४ मा भएको प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झण्डै १८ किलो (१७,९४५ ग्राम) सुन लुटिएको छ। बैंकका अनुसार लुटिएको सुन ऋण धितोमा राखिएको थियो, जसको बीमा गरिएको छ, भने ग्राहकहरूको व्यक्तिगत लकर सुरक्षित रहेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको बताउँदै मुलुकभरका बैंक तथा वित्तीय संस्थाका २५ शाखा र ४३ एक्सटेन्सन काउन्टरसहित ६९ वटा एटीएममा आंशिक तोडफोड र आगजनी भएको जनाएका छन्। कतै झ्याल फुटेका छन् भने कतै सानो आगजनी भएको छ, तर अधिकांश स्थानमा क्षति सामान्य रहेको उनले बताए।
यस लुटपाटले बैंकिङ सुरक्षा, धितो व्यवस्थापन र बिमा प्रणालीप्रति प्रश्न उठाएको छ। विशेषज्ञहरूका अनुसार यस्ता घटना दोहोरिएमा बिमा कम्पनीहरूले जोखिम मूल्यांकनमा कडाइ गर्न सक्छन्, जसको असर ऋण प्रक्रिया र ग्राहकको विश्वासमा समेत असर पर्न सक्छ।


























