प्रहार समाचार । तनहुँ, २८ भदौ २०८२ शनिवार । यहि भदौ २४ गते ‘जेन -जी’ पुस्ता आन्दोलनका नाममा तनहुँमा भएको प्रदर्शनको क्रममा सार्वजनिक तथा निजी भवनहरूमा आगजनी र तोडफोडसँगै महत्त्वपूर्ण कागजात, नगद तथा बहुमूल्य सामग्रीहरू लुटपाट गरिएको खबरहरू बाहिर आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले उक्त घटनामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याइरहेको जनाएको छ।

प्रहरीका अनुसार केही भवनहरूमा आगजनी तथा तोडफोड हुनुअघि त्यहाँ रहेका दस्तावेज, नगद, जिन्सी तथा अन्य मूल्यवान सामानहरू चोरी वा लुटपाट भएको आशंका गरिएको छ। सो घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी र प्रमाण संकलनको प्रक्रिया अगाडि बढाइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले एक विज्ञप्ति जारी गर्दै यस्ता चोरी तथा लुटपाटमा प्रयोग गरिएका वा लुटिएका सामग्रीहरूको खरिद, बिक्री वा सञ्चय नगर्न र नगराउन सर्वसाधारणमा अपिल गरेको छ। साथै, यस्ता सामग्रीहरू कसैसँग देखिएको वा प्राप्त भएको खण्डमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा बुझाउन समेत अनुरोध गरिएको छ। हेरौं विज्ञप्ति :

प्रहरीले चोरी वा लुटपाटका सामग्रीहरू खरीद–बिक्री वा सञ्चय गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
प्रहरीसँग सम्पर्क गर्नका लागि कन्ट्रोल रुम – ९८५६०९०१७८, १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाले सार्वजनिक शान्ति तथा सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले हरसम्भव प्रयास गरिरहेको बताए । छ
प्रहरीले घटनासँग सम्बन्धित कुनै पनि जानकारी भए तुरुन्त खबर गरिदिन आम जनसमुदायमा आग्रह समेत गरेको छ।


























