प्रहार समाचार । तनहुँ, २८ भदौ २०८२ शनिवार । मिथिला क्षेत्र यतिबेला जितिया पर्वको रौनकमा डुबेको छ। पितृपक्षको अष्टमी तिथिमा सन्तानको सुख, समृद्धि र दीर्घायुकाे कामनासहित महिलाले गरिने यो कठाेर व्रत विशेषगरी मिथिला र थारू समुदायमा महत्वपूर्ण रूपमा मनाइन्छ।

यस वर्षको जितिया पर्वको अघिल्लो रात अर्थात् आज ‘ओगटन’ खाने परम्परा अनुसार मिथिलानीहरू चिउरा-दही, मिष्टान्न र सात्विक परिकार जुटाउन व्यस्त छन्। भोलि आइतबारदेखि सुरु हुने जितिया व्रत एक अहोरात्र निराहार बसेर सोमबार बिहान ७ बजे (नवमी तिथिको एक घडी कटाएर) समापन गरिनेछ।
व्रतको दिन महिलाहरू पवित्र जलाशयमा स्नान गरी सूर्यलाई तोरीको तेल र पिनाको अर्घ्य दिई व्रतको संकल्प गर्छन्। दिवङ्गत सासू, जेठानी, आमाजू, माइती पक्षकी बज्यैलगायत तीन पुस्ताभित्रका महिलालाई तर्पण दिई सन्तानको कल्याणको प्रार्थना गरिन्छ।
जितिया पर्व राजा जितवाहनको पौराणिक कथासँग जोडिएको छ। द्वापर युगमा एक विधवा ब्राह्मणीका मृत सन्तानहरूलाई राजा जितवाहनले आफ्ना तपशक्तिले पुनर्जीवन दिएको जनविश्वासका आधारमा यो व्रत सुरु भएको मानिन्छ। महिलाहरू यस दिन राजा जितवाहनको कथा सुन्छन् र आफ्ना सन्तानहरू पनि उनीजस्तै साहसी, परोपकारी बनून् भन्ने कामना गर्छन्।
मिथिला क्षेत्रका धार्मिक विधि-विधान विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गको आधारमा निर्धारण गरिन्छ। जितिया पर्वको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने परम्परा कायम राखेको छ। मिथिलाको सांस्कृतिक र पारिवारिक संवेदनशीलतासँग गहिरो सम्बन्ध राख्ने यो पर्वले धार्मिक आस्था र मातृत्वको बलिदानलाई एकसाथ उजागर गर्छ।


























