प्रहार समाचार । तनहुँ, २७ भदौ २०८२ शुक्रवार । ‘जेन जी’ पुस्ता आन्दोलनको मौका छोपेर भदौ २४ गते तनहुँ कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म ६५ जना पक्राउ परेका छन्। बाँकी फरार कैदीहरूको खोजीका लागि सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष बिकका अनुसार, आन्दोलनकारीको आडमा कैदीबन्दीहरूले कारागारको मूल ढोका र फोड्दै फरार भएका थिए। त्यतिबेला कारागारमा महिला कैदीसहित ३२६ जना बन्दी रहेका थिए।
प्रहरीका अनुसार केही फरार कैदीहरू विभिन्न स्थानबाट पक्राउ परेका छन् भने केहीले आत्मसमर्पण गरेका छन्। पक्राउ परेकाहरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागारमै राखिएको जनाइएको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रहार समाचारसँग कुरा गर्दै कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार भागेका कैदीबन्दीलाई पक्राउ गरी पुनः सम्बन्धित कारागारमै राख्ने सर्कुलर जारी भएको जानकारी दिए। साथै उनले सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित गरिएको पनि स्पष्ट पारे।

भागेका कैदीबन्दीको खोजी कार्यलाई तीव्र पार्न जिल्ला, प्रदेश तथा संघीय सुरक्षानिकायहरूबीच समन्वय गरिएको जनाइएको छ। यसैगरी, कारागारको भौतिक संरचना तथा सुरक्षासम्बन्धी कमजोरीका विषयमा समेत छानबिन सुरु गरिने प्रजिअ अधिकारीहरूले बताएका छन्।

आन्दोलनका क्रममा कारागरको कार्यालयमा आन्दोलनकारीले आगो लगाएर सम्पूर्ण कागजात , फर्निचरमा आगजनी गरेका थिए । आगलागीका कारण लयको भवनमा क्षति पुगेतापनि एउटा कोठा सफा गरेर त्यहि बाट नियमित दैनिक काम काज सुरु गरिएको छ।

























