हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा आन्दोलनका क्रममा पत्रकार र सञ्चारगृहमाथि आक्रमण : नेपाल पत्रकार महासंघद्वारा कडा आपत्ति

प्रहार समाचार । तनहुँ, २७ भदौ २०८२ शुक्रवार । सुशासन र भ्रष्टाचारविरुद्धमा जेन जी आन्दोलनका क्रममा तनहुँमा पत्रकार र सञ्चारमाध्यमहरू लक्षित गर्दै भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाले कडा आपत्ति जनाएको छ। महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा दिवंगत भएका युवा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइते पत्रकार, सुरक्षाकर्मी तथा सर्वसाधारणको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महासंघले २०८२ भदौ २३ गतेको प्रदर्शनमा राज्य पक्षबाट भएको बल प्रयोग र २४ गतेको घटनामा भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। आन्दोलनको नाममा सञ्चारमाध्यम र पत्रकारमाथि लक्षित आक्रमण हुनु लोकतान्त्रिक मूल्य विपरित भएको भन्दै महासंघले दोषी पहिचान गरी कानुनी कारबाहीको माग समेत गरेको छ।

पत्रकार र सञ्चारमाध्यममाथि लक्षित हमला :

प्रेस विज्ञप्तिमा जनाइएअनुसार आन्दोलनको क्रममा निम्न घटनाहरू भएका छन्:

नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गालीगलौज र हातपातको प्रयास

पत्रकार अशोक विकको मोटरसाइकल (ग १५ प ७४९७) र पत्रकार सुमन श्रेष्ठको मोटरसाइकल (ग १५ प ४५४) साथै रेडियो ढोरबराहीको स्कुटर (ग १३ प ५०७४) मा तोडफोड

रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिकको कार्यालयमा तोडफोड

महासंघले घटनामा संलग्नहरुलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेको छ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने सरकारी निर्णय फिर्ता लिन समेत आग्रह गरिएको छ।

महासंघका सचिव कृष्ण न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जनतालाई सूचित गर्न र लोकतन्त्र सुदृढ गर्न क्रियाशील सञ्चारकर्मीहरूमाथि नियोजित रूपमा आक्रमण हुनु दुःखद र आपत्तिजनक छ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button