प्रहार समाचार । तनहुँ, २५ भदौ २०८२ बुधवार । तनहुँ जिल्लामा जिएनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनले मुलुकको असन्तुष्टिप्रति सशक्त सन्देश दिंदै सरकार नै परिवर्तन त गरायो, तर त्यसको स्वरूपले लोकतान्त्रिक मूल्य र मान्यतामा भने गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। जलेर खण्डहर बनेको जिल्ला समन्वय समिति तनहुँको भवन । तस्बिर : प्रहार अनलाइन मिडिया

भदौ २४ गते भएको घटनामा सार्वजनिक र निजी सम्पत्तिमाथि गरिएको आगजनी, तोडफोड र लुटपाटका गविधिहरूले आन्दोलनको मूल उद्देश्य ओझेलमा परेको भन्दै जिल्लाका चार प्रभावशाली संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति मार्फत चासो प्रकट गरेका छन्।
तनहुँ उद्योग वाणिज्य संघ का अध्यक्ष बैकुण्ठ नाथ मिश्र , महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल , नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले आज जारी गरेको संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, आन्दोलनको नाममा भएको हिंसा, अराजकता र लुटपाटप्रति तीव्र विरोध प्रकट गरिएको छ।
“चित्त नबुझेको विषयमा आवाज उठाउनु, आन्दोलन गर्नु नागरिकको अधिकार हो, तर त्यसको अभ्यास संयमित, मर्यादित र उत्तरदायी ढंगले हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
संयुक्त वक्तव्यमा विशेषतः जेनजी (GEN-Z) पुस्तालाई लक्षित गर्दै नेतृत्वमा आउने युवाहरूले संयम र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ। अराजक गतिविधिमा हुने घुसपैठ र लक्षित विमति भित्र्याउने बाह्य प्रभावहरू रोक्न सबैलाई सचेत हुन आह्वान गरिएको छ।
“संक्रमणकाल लम्बिंदै जानु आफैंमा अराजकतासँगको निम्तो हो,” भन्दै विज्ञप्तिले आगामी चाडपर्वको मुखमा जनजीवनलाई सहज बनाउन सबै सरोकारवालाको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ। नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, बुद्धिजीवी तथा अभिभावकहरूलाई अग्रसर बन्न अपिल गरिएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिनको लागि नीति निर्मातादेखि नागरिकसम्म गम्भीर हुनु पर्ने माग विज्ञप्तिमा उल्लेख छ । हेरौ विज्ञप्ति :



























