प्रहार समाचार । तनहुँ, २५ भदौ २०८२ बुधवार । तनहुँको व्यास नगरपालिकाले आज एक सार्वजनिक सूचनामार्फत भदौ २३ र २४ गते मुलुकभर Gen Z पुस्ताले गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

घटनापछि उत्पन्न भएको असहज परिस्थितिका कारण व्यास नगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरू आज (भदौ २५ गते) का लागि बन्द गरिएको सूचनामा उल्लेख छ। नगरपालिका प्रशासनले तत्काल सेवा प्रवाहमा कठिनाई भएको स्पष्ट पार्दै सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।

नगरप्रशासनले यस्तो विषम परिस्थितिमा सबै नगरवासीलाई सतर्क रहन, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न र सामूहिक जिम्मेवारी बोधसहित संयमित रहन प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

























