हेडलाईनसमाचारप्रदेश

शान्ति र सुरक्षाको पक्षमा नेपाली सेना सक्रिय : सम्पूर्ण सुरक्षा निकायहरूले राति १० बजेदेखि आवश्यक कदम चाल्ने

प्रहार समाचार । काठमाडौं, २४ भदौ २०८१ मङ्गलवार । पछिल्लो समय देखिएका अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली सेनाले नागरिक सुरक्षाको प्रत्याभूति दिन र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

नेपाली सेनाका अनुसार केही समूहहरूले अहिलेको संवेदनशील अवस्थाको अनुचित फाइदा उठाउँदै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी जस्ता आपराधिक गतिविधि गरिरहेका छन्। यस्तो कार्य नगर्न र नगराउन अनुरोध गर्दै सेनाले शान्ति र सुरक्षाको वातावरणलाई खल्बल्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायहरूले राति १० बजेदेखि आवश्यक कदम चाल्ने तयारी गरिएको जानकारी गराइएको छ। “हामी सबै नेपालीको सुरक्षाका लागि प्रतिबद्ध छौं। परिस्थिति नियन्त्रणमा ल्याउन राज्यका सम्पूर्ण संयन्त्रले संयम र जिम्मेवारीका साथ काम गर्नेछ,” सेनाले भनेको छ।

यसैबीच, सेनाले केही व्यक्तिबाट खोसिएका हतियारहरू फिर्ता गर्न १० बजेसम्मको समय सीमा दिएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतले शान्तिपूर्ण समाधानका लागि हतियार स्वतःस्फूर्त रूपमा बुझाउन आग्रह गरेका छन्।

प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार साँझ सम्बोधन गर्दै अहिलेको अवस्था वार्ताबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै आन्दोलनरत पक्षहरूलाई वार्तामा आउन आग्रह गरेका छन्।

यस कदमले राज्यको बल प्रदर्शन होइन, शान्तिपूर्ण सहअस्तित्वको स्पष्ट सन्देश दिन खोजेको देखिन्छ। सुरक्षाका अंगहरूको संयमित चेतावनी र वार्ताको आह्वानले समाजमा स्थायीत्व, शान्ति र एकताको पक्षमा सकारात्मक संकेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button