प्रहार समाचार । काठमाडौं, २३ भदौ २०८२ सोमवार । काठमाडौं र इटहरीमा जेन-जीको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएर उम्किएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। लेखकले राजीनामा “नैतिकताको आधारमा” दिएको दाबी गरे पनि घटनापछि चर्किएको जनदबाबकै कारण उनले पछाडि हट्नुपरेको देखिएको छ।
सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। आन्दोलन नियन्त्रण गर्न सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लेखकको राजीनामाको माग गरेका थिए। त्यसपछि लेखकले बैठकमै राजीनामाको जानकारी गराएर मन्त्रिपरिषद् पुगेका थिए।
२०८१ साल असार ३१ मा गृहमन्त्री बनेका लेखकको कार्यकाल छोटो रह्यो, तर त्यही अवधिमा १९ जनाको ज्यान गएको घटनाले उनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। राजीनामासँगै सरकारको सुरक्षा नीति र प्रदर्शन व्यवस्थापनको शैली चर्को आलोचनाको घेरामा आएको छ। साथै गृह मन्त्री रमेश लेखक माथि के कस्तो कार्रवाही हुन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ।


























