• बिजय अधिकारी (प्रहार संवाददाता ) विराटनगर, २३ भदौ २०८२ सोमवार । सुनसरीको इटहरीमा भइरहेको जेनजी आन्दोलन हिंसात्मक रूप लिँदा प्रहरीले चलाएको गोलीबाट दुई जनाको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा इलाका प्रहरी कार्यालय, इटहरी अगाडि गोली चलेको थियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका अन्दाजी २५ र ३० वर्षका दुई पुरुषलाई चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। उनीहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार प्रदर्शन चर्किएर इलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएपछि प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गर्नुपरेको थियो। उनले भने, “स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र आवश्यक कदम चाल्नुपर्यो। मृत्यु पुष्टि हुनेबारे अहिलेसम्म आधिकारिक विवरण प्राप्त भएको छैन।”

झडपको सुरुबात इटहरी नगरपालिका कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको हो। प्रदर्शनकारीहरूले नगरपालिकाको एउटा भवनमा आगो लगाएको पुष्टि भएको छ। त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा केही युवाहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछिको आक्रोशमा प्रदर्शनकारीहरू इलाका प्रहरी कार्यालयतर्फ धकेलिँदा झडप चर्किएको हो ।
स्थिति तनावग्रस्त बन्दै गएपछि प्रशासनले इटहरी बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। नागरिकलाई घरभित्रै बस्न सूचित गरिएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
जेनजी आन्दोलनको माग र उद्देश्यबारे स्पष्ट जानकारी बाहिर आएको छैन, तर केही दिनदेखि इटहरीमा सामाजिक सञ्जालमार्फत युवाहरू परिचालित हुँदै सडकमा उत्रिएका थिए। शनिबार अपराह्न चर्किएको आन्दोलनले अब हिंसात्मक मोड लिएको देखिएको छ।
प्रहरी प्रशासनले घटनाबारे आधिकारिक प्रेस विज्ञप्ति भने अझै जारी गरेको छैन। मृतकको पहिचान र गोली चलाउने आदेशबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।


























