• बिजय अधिकारी (प्रहार संवाददाता) काठमाडौं, २२ भदौ २०८२ आइतवार । सामाजिक सञ्जाल बन्दको प्रस्तावविरुद्ध भोलि आयोजना हुन लागेको जेनरेसन जेड को र्यालीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खुला समर्थन जनाएका छन्।

मेयर शाहले आफ्नो उमेर २८ वर्षभन्दा माथि भएकाले उमेर हदबन्दीका कारण प्रत्यक्ष सहभागी हुन नसक्ने बताएका छन्। तर, सामाजिक सञ्जालमार्फत उनले युवाहरूको आवाजप्रति चासो व्यक्त गर्दै उनीहरूको सोच र भावना बुझ्न आफू इच्छुक रहेको उल्लेख गरेका छन्।
“भोलीको र्याली स्पष्ट रूपमा स्वस्फूर्तरूपमा Zen G को हो। उहाँहरू भनेको २८ वर्ष मुनिका हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु,” मेयर शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।
उनले राजनीतिक दल, नेता, कार्यकर्ता, सांसद वा कुनै पनि समूहलाई व्यक्तिगत वा संस्थागत स्वार्थका लागि आन्दोलनको प्रयोग नगर्न चेतावनी पनि दिएका छन्। “भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,” उनले लेखेका छन्।
शाहले युवापुस्ताले देखेको नेपालको सपना कस्तो हो भन्ने प्रश्न पनि गरेका छन्। “प्रिय Zen G, भन्नुहोस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?” भनेर उनले भावनात्मक अपिलसमेत गरेका छन्।
सामाजिक सञ्जालको नियमनका नाममा हुने सम्भावित प्रतिबन्धविरुद्ध युवा पुस्ताले सामाजिक अभियानको रूपमा भोलिको प्रदर्शनको तयारी गरेका छन्। मेयर शाहको समर्थनसँगै यो विषय झनै सार्वजनिक चासोको केन्द्रमा रहेको छ।


























