प्रहार समाचार । काठमाडौँ, २२ भाद्र २०८२ आइतवार । आज राति आकाशमा विशेष खगोलीय घटना देखिन लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्नेछ, जसको अवलोकन नेपालभर सम्भव हुने जनाइएको छ।

समितिले स्वीकृति दिएको पात्रो अनुसार चन्द्रग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ भने यसको मध्य राति ११ः५६ मा हुनेछ। ग्रहण राति १ः४१ बजे समाप्त हुने समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिएका छन्।
यसैबीच, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) ले चन्द्रग्रहण राति १०ः१२ मा सुरु हुने बताएको छ। खगोलविद्हरूका अनुसार चन्द्रमा पूर्णरूपमा पृथ्वीको छायाँमा पर्ने खग्रास अवस्था साढे तीन घण्टा लामो हुनेछ र काठमाडौं उपत्यकाबाट समेत स्पष्ट रूपमा देख्न सकिनेछ।
खगोलमा रुचि राख्नेहरूका लागि यो दुर्लभ अवसर भएकाले उपयुक्त सुरक्षा उपाय अपनाएर चन्द्रग्रहणको प्रत्यक्ष अवलोकन गर्न खगोलविद्हरूले आग्रह गरेका छन्।


























