हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको नाहालामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रहार समाचार । तनहुँ, २२ भदौ २०८२ आइतवार । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पृथ्वी राजमार्ग खण्डमा आज दिउँसो ट्रिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र. ०६–००१प ९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग २ ख १५६१ नम्बरको ट्रिपरले ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल दमौली पठाइएको थियो। तर टाउको र अनुहारमा गहिरो चोट लागेका कारण अवस्था गम्भीर भइ बोल्न नसक्ने अवस्थामा रहेका ती व्यक्तिलाई अस्पतालमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका छन्।

प्रारम्भमा नाम, थर र ठेगाना नखुलेका ती घाइतेको थप पहिचान गर्दा उनी जिल्ला कास्कीको रुपा गाउँपालिका–७ निवासी ४५ वर्षीय धर्मराज सेन रहेको खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय डुम्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको टोली घटनास्थलमा खटिएको थियो। हाल दुबै सवारीसाधन र ट्रिपर चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button