प्रहार समाचार । काठमाडौं, २३ भदौ २०८२ सोमवार । नेपालको नयाँ पुस्ता, जेन–जी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) आज काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएका छन् ।

‘हामी नेपाल’ नामक संस्थाको आयोजनामा बिहान ९ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी निर्णयको विरोध गरेका छन्। सरकारद्वारा ‘टिकटक’ र ‘रेडिट’जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सुरु भएको असन्तुष्टि अहिले सडकमा उत्रने भएको हो ।
संस्थाका अध्यक्ष सुदन गुरुङ भन्छन् – ‘हामीले नेतृत्व लिएको यो प्रदर्शन विशुद्ध रूपमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हो, कुनै पनि राजनीतिक एजेन्डाविहीन रूपमा। शान्तिपूर्ण, कानूनी र अनुशासित ढंगले अगाडि बढ्नेछौं।”
‘नेपो किड’ ट्रेन्डबाट सडकसम्म :
टिकटक र रेडिटमा केही समययता चलिरहेको ‘नेपो किड’ र ‘नेपो बेबी’ ट्रेन्डमार्फत जनताले प्रभावशाली नेताहरूका सन्तानको जीवनशैली र सुविधा प्राप्तिको विरुद्ध आवाज उठाइरहेका थिए। एकातर्फ जनताले भोगिरहेको अभाव र अर्कोतर्फ विशेष वर्गको विलासी जीवनबीचको अन्तर देखाउँदै सञ्जालमा आलोचना गरिएको थियो ।
शान्तिपूर्ण प्रदर्शनको प्रतिबद्धता :
जिल्ला प्रशासन कार्यालय काठमाडौले प्रदर्शनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए । प्रदर्शन शान्तिपूर्ण गर्न पनि उनले आग्रह गरेका छन्। माइतिघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। आयोजकहरूले सहभागीहरूलाई ड्रेस र पुस्तकसहित आउन आह्वान गरेका छन्, जसले यो आन्दोलन विद्यार्थी–केन्द्रित, शैक्षिक र शान्तिपूर्ण रहेको सन्देश दिन्छ।
प्रदर्शन टोलीका सदस्य अंकित मल्ल भन्छन्, “हामी केवल सञ्जालमा आलोचना गर्दै थियौं। तर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेपछि सडकमा उत्रिन बाध्य भयौं।”
सुरक्षा र सन्देश संयमित
प्रदर्शनका क्रममा सहभागीहरूले सामाजिक सञ्जालमार्फत सुरक्षा सम्बन्धी जानकारी र रुट प्लानसमेत साझा गरिरहेका छन्। यिनीहरूको आन्दोलनमा तोडफोड वा हिंसाका लागि कुनै ठाउँ छैन भन्ने स्पष्ट सन्देश छ।
यस प्रदर्शनले देशभरका युवाहरूमा फैलिएको असन्तुष्टिलाई एकजुट गर्ने संकेत दिएको छ। काठमाडौंमा सुरु भएको यो आन्दोलन अन्य सहरमा पनि फैलिने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्धको संकेत दिएपछि यो आन्दोलन झनै चर्किएको हो।
यस प्रदर्शनले देशभरका युवाहरूमा फैलिएको असन्तुष्टिलाई एकजुट गर्ने संकेत दिएको छ। काठमाडौंमा सुरु हुने यो आन्दोलन अन्य सहरमा पनि फैलिने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। यसै बिच आज तनहुँको सदरमुकाम दमौलीको अनसन चौतारी चोकमा पनि प्रदर्शन हुने भएको छ।


























