हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

इन्द्रजात्रामा मेयर बालेनको राष्ट्रपतिलाई स्वागत : प्रधानमन्त्री ओली हेरेको हेरै

• बिजय अधिकारी (प्रहर संवाददाता ) , काठमाडौँ, २१ भदौ २०८२ शनिवार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रामा चर्चाको केन्द्र बनेका छन्। अघिल्लो वर्ष इन्द्रजात्रामा अनुपस्थित रहेका शाह यसपालि भने अचानक बसन्तपुर दरबार क्षेत्रमा देखा परे – त्यो पनि देशका राष्ट्रप्रमुख राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गर्दै।

इन्द्रजात्रा राजधानी काठमाडौंको सांस्कृतिक पहिचान बोकेको ऐतिहासिक पर्व हो, जहाँ राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति हुने गर्दछ। सोहीअनुसार आयोजकको भूमिकामा रहने काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले विशिष्ट अतिथिहरूलाई स्वागत गर्ने परम्परा रहँदै आएको छ।

यसपटक मेयर शाहले राष्ट्रपति पौडेललाई व्यक्तिगत रूपमा स्वागत गर्दै मञ्चसम्म साथ दिएका थिए। तर जब प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थलमा पुगे, शाह भने त्यहाँ उपस्थित थिएनन्। प्रधानमन्त्रीको स्वागत महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरे।

यस घटनाले सांस्कृतिक समारोहमा स्थानीय तहका निर्वाचित प्रमुखहरूको भूमिकाबारे बहस सुरु गरेको छ। राष्ट्रपति र प्रधानमन्त्री दुबैजना इन्द्रजात्रामा सहभागी भइरहँदा एउटालाई स्वागत गर्नु र अर्कोलाई बेवास्ता गर्नु राजनीतिक संकेत हो वा संयोग – सामाजिक सञ्जालमा विभिन्न कोणबाट विश्लेषण सुरु भइसकेको छ।

इन्द्रजात्रा विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका क्षेत्रमा भाद्र शुक्ल चतुर्दशीका दिन मनाइन्छ। काठमाडौंको बसन्तपुर क्षेत्रमा आयोजित समारोहमा रथयात्रा, झाँकी, नाचगान लगायतका कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहने गरेका छन्।

महानगरपालिकाले यसपटक इन्द्रजात्रालाई थप भव्य बनाउन विशेष तयारी गरेको थियो। तर, त्यही भव्य आयोजनाभित्र मेयर शाहको उपस्थिति र अनुपस्थिति दुवैले राजनीतिक संकेत र सांस्कृतिक व्यवहारबारे नयाँ बहस जन्माएको देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button